पार्टी एकताको पाश्र्वभूमि


पार्टी एकताको पाश्र्वभूमि

शुभशंकर कँडेल

‘केपीको चाहना आफू प्रमुख भएर प्रचण्डलाई ‘कोचेयर’ बनाउने थियो । प्रचण्डको पालैपालो भन्ने थियो । व्यवहारमा कहिल्यै पालैपालो भएन ।’

काठमाडौँ — पुस २८ देखि माघ ४ सम्म केपी शर्मा ओली स्वास्थ्य फलोअप चेकजाँचका लागि बैङ्कक गएर फर्के । दुई दलबीच दूरी बढाउनेलाई ओलीको बैङ्कक यात्रा गज्जब मसला बन्न पुग्यो । त्यहाँ ओलीले ‘रअ’का अधिकारीसँग भेटघाट गरे भनेर एक माओवादी नेताले चलाएको अनलाइनले समाचार पोस्ट गर्‍यो ।


त्यो बीचमा मैले ओलीसँग तपाईंहरूको बटमलाइन के हो भन्ने पटक–पटक कुरा गरेको थिएँ । २०७४ माघ १२ गते प्रचण्डले भेटौँ भन्नुभयो । म दिउँसो प्रचण्ड निवास पुग्दा जनार्दन शर्मा र प्रचण्ड छतमा बसेर सुन्तला खाँदै कुरा गर्दै थिएँ । म गएको केही बेरमै शर्मा बाहिरिए । मैले प्रस्ट शब्दमा ‘ओली दुवैजना अध्यक्ष हुनेगरी जान तयार छन् । अहिले नै उनले तपाईंलाई चाहेर पनि पार्टीको एकल अध्यक्ष बनाउन नसक्ने’ परिवेश बताइदिएँ । प्रचण्ड त्यति खुसी देखिएनन् ।

हिँड्ने बेलामा फेरि मैले दोहोर्‍याए, ‘यो नराम्रो विकल्प होइन । अन्तिममा हुने पनि यही हो जस्तो लाग्छ । अब ढिला गर्नु तपाईंकै लागि घातक हुनसक्छ ।’

त्यही बीचमा मैले कांग्रेस सांसद अमरेशकुमार सिंहसंँग २०७४ माघ २० मा मेरो अफिसमा बोलाएर कुराकानी गरेँ । उनको भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणपछि प्रचण्डसँग दिल्लीको सम्बन्ध बिग्रन पुगेको कहानी सुनाएँ । उनले भने, ‘चुनाव लगत्तै म, सिटौला र ‘रअ’को अधिकारी विवेक भन्ने तीनजना प्रचण्डकहाँ गएर ल तपाईं अघि बढ्नुस्, पाँच वर्षका लागि ढुक्कै सरकार चलाउनेगरी कांग्रेस र मधेसवादी दल समर्थन गर्न तयार छन् भन्यौँ । यो कुरा प्रचण्डले आफ्नो पार्टी बैठकमा पनि भने, ओलीसँग पनि गएर भने । त्यसपछि बर्बादै भयो नि †’ सिंहले थपे– ‘एमालेसँग प्रचण्ड गए भने शान्ति प्रक्रिया दुर्घटनामा पर्न सक्छ । ओली र मोदी मिलेर जे पनि गरिदिन सक्छन् ।’ यो पछिल्लो सिंहले भनेको कुरा प्रचण्डलाई धेरै तिरबाट भन्न लगाएर दबाबमा पार्ने रणनीति जारी नै थियो ।

पार्टी एकता भएपछि २०७५ साउन ३० गते अनौपचारिक कुराकानीकै क्रममा चुनावपछि किन एकता लम्बियो ? तपाईंलाई के लाग्छ भन्ने प्रश्न गरेको थिएँ, मैले माधव नेपालसँग । नेपालले ‘प्रचण्डको अध्यक्ष बन्ने अड्डीका कारण लम्बिएको’ भन्दै सविस्तार बताए ।

‘प्रचण्डले आफू अध्यक्ष बन्ने भन्ने अड्डीका कारण लम्बियो । पहिले ‘कोचेयर’, ‘कोचेयर’ भन्थे । अमूर्त–अमूर्त कुरा गर्थे । यो त त्यत्तिकै हावामा भएको हो । हालहुलमा भएको हो । केपीको चाहना आफू प्रमुख भएर प्रचण्डलाई ‘कोचेयर’ बनाउने थियो । प्रचण्डको पालैपालो भन्ने थियो । व्यवहारमा कहिल्यै पालैपालो भएन । केपीले प्रचण्डलाई झुक्याएर ल्याएको हो ।’

माधवले अरू थपे– ‘म रिसाएँ । के मिल्यो ? तपाईंलाई चाहिएको अध्यक्ष पाउनुभयो मिल्यो ? बाँकी अरू कसैको मिल्नु पर्दैन ? हामी के पङ्खे हौँ, तपाईंहरूको पङ्खा हम्काउने ? भनेर बैठकमै भनेँ । अनि मलाई प्रचण्डले अलग्गै कोठामा लगेर, होइन तपाईं पनि वरिष्ठ नेताकै रूपमा रहनुपर्छ भने । तर केपी त्यति बोलिरहेका थिएनन् । तर म त्यत्तिकै छोड्नेवाला थिइन । कुनै हालतमा मान्नेवाला थिइन । मेरो भनाइ थियो, तपाईंहरूको कार्यकर्ता होइन म । म पनि लिडर हुँ । केपीले ठिकै भन्थे— तपाईं हामी त दौँतरी हौँ, सँगै सुरु गरेका मान्छे । तपाईंको र मेरो बिग्रियो । तर अरूले धेरै फुर्तीफार्ती देखाउनुभएन भन्ने टाइपको कुरा हुन्थ्यो ।’

एकताको अन्तिमतिरको घटना सम्झँदै माधव नेपालले भने, ‘अनि मलाई के भने त भने हामी एकजना वरिष्ठ नेता राख्छौँ, त्यसमा तपाईं रहनुस् । झलनाथलाई उहाँहरू रिटायर्ड भएर जाउन् भन्ने चाहनुहुन्थ्यो । त्यसो गर्नुमा भित्री कारणहरू छन् । ‘दिस म्यान इज नो युज मोर’ भन्ने थियो । खनालका अराजनीतिक गलत क्रियाकलापका कारणले त्यस्तो सोचाइमा दुईजना पुगेका थिए । तर मैले भनेँ– खनाल पनि पूर्वप्रधानमन्त्री हो नि । फेरि उहाँहरूले भन्नुभयो, उसोभए ‘सेकेन्ड’ । किनभने उहाँ वि.सं. २०७१ को महाधिवेशनमा चुनाव लडेर आएको होइन । तपाईं त चुनाव लडेर आएको । उहाँलाई त त्यत्तिकै राखिदिएको हो भन्नुभयो । तर झलनाथलाई दुई नम्बरमा झार्नुस् भन्नेमा म थिइन । मैले त्यसलाई स्वाभाविक ठानेँ । जे भए पनि म सामान्य हैसियतमा बस्ने पक्षमा थिइन भन्ने सङ्केत बुझिसक्नुभएको थियो, उहाँहरूले ।’

‘मलाई त चिन्ता सिङ्गो केन्द्रीय कमिटीको थियो । मसँग भएका साथीहरू केन्द्रीय, पोलिटब्युरो र स्थायी समितिमा पर्छन् कि पर्दैनन् भन्ने थियो । उहाँहरू पोलिटब्युरो राख्ने पक्षमा हुनुहुन्थेन । मैले नै त्यो राख्न लगाएको हुँ । मानिसहरूलाई भएको पदबाट किन तल झार्ने ? पोलिटब्युरोमा आएको मान्छेलाई केन्द्रमा झार्ने ? कि आधारभूत रूपमै परिवर्तन भएको भए अलग्गै कुरा हुन्थ्यो । केपीले अन्त्यमा माधवसँग लडेर पार लाग्दैन भनेर मिल्न आइपुगे । मैले केपीलाई भनेँ, अहिले तपाईंलाई मानिसहरूले भन्छन्– ओलीले वामदेव र झलनाथलाई ठूलठूला आश्वासन दिनुभयो, सबैलाई लोप्पा खुवाउनुभयो । अब माधवलाई लोप्पा खुवाउँछ भन्छन् । यो कुुराको कसरी जवाफ दिनुहुन्छ ?’

एकता घोषणा भएपछि वरियतामा झलनाथ खनाल माधव नेपालपछिको सचिवालय सदस्यको हैसियतमा मात्र रहे भने माधव नेपाल वरिष्ठ नेताको हैसियतमा ओली र प्रचण्डपछिको मर्यादाक्रममा रहन पुगे ।

अन्तत: दसवर्षे युद्धका कमाण्डर एकीकृत पार्टीको अध्यक्ष भए, तर पूर्व एमालेजनहरूको चाहना अनुसार उनी मदन भण्डारी बन्न सक्छन् कि सक्दैनन् ? अथवा पूर्वएमालेजनले प्रचण्डलाई मदन भण्डारीको तहमा पुर्‍याउन सहयोग गर्छन् कि मोहनचन्द्र अधिकारीको तहमा ?

लेखकको आइतबार सार्वजनिक हुने ‘अवतरण’ नामक पुस्तकबाट ।